बागलुङकाे ४५० हेक्टर वनमा डढेलो
बाग्लुङ | बैशाख ९, २०८०
FILE PHOTO
बलेवा: सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो ।
गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ । गतमाघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन ।
बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताउनुभयो । जानीजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ । केही तथ्याङ्क भने आउनै बाँकी छ ।
यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिकाका छ सामुदायिक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो । जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक÷एक वनमा आगलागी भएको छ ।
जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाभर पाँच सय २७ सामुदायिक वन ३३ हजार नौ सय नौ हेक्टरमा फैलिएका छन् भने, आठ दर्ता भएका निजी र बाँकी राष्ट्रिय वनक्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताउनुभयो ।
गतवर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वनक्षेत्रमा आगलागी भएको थिएन । एकाध वन क्षेत्रमा लागेको आगो समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए । यस वर्ष हिउँदमा सुक्खा हुँदा अधिकांश वनक्षेत्र आगलागीको जोखिममा परेको वन अधिकृत अधिकारीले बताउनुभयो । वर्षा नभएसम्म बाँकी रहेका वन क्षेत्रसमेत आगलागीको जोखिममा छन् ।
जङ्गली जनावरबाट बच्न, वर्षायाममा मल हुने लोभलगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाइन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई क्षति हुने गरेको छ । वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइप पोलिएर कैयौँ ठाउँमा खानेपानीको समस्या छ भने कतिपय जङ्गल क्षेत्रमा रहेका महत्वपूर्ण जडीबुटी जलेका छन् ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

